गौरादह । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गाउँ तथा नगर अधिवेशन नजिकिँदै जाँदा झापाको गौरादह नगर सभापतिको नेतृत्वका लागि आकांक्षीहरूको चर्चा बढेको छ। चर्चामा रहेका नाममध्ये नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य प्रकाश कार्कीको नाम पनि अगाडि आएको छ।
अधिवेशनको मिति नजिकिँदै गर्दा कार्की पार्टीका क्रियाशील सदस्य, अग्रज तथा कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ। विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय कार्कीले २०४४ सालमा कक्षा ९ मा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघसँग जोडिएको बताउँदै आएका छन्।
२०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका कार्कीको पारिवारिक पृष्ठभूमि पनि कांग्रेससँग जोडिएको छ। घरमा पार्टीका नेता तथा कार्यकर्ताको नियमित आवतजावत हुने राजनीतिक वातावरणबाट आफू कांग्रेसको राजनीतिमा आकर्षित भएको उनी बताउँछन्।
कार्कीले आफ्नो राजनीतिक यात्रा कुनै पद प्राप्तिका लागि मात्र नभई कांग्रेसको विचार र संगठनलाई स्थानीय तहमा बलियो बनाउने उद्देश्यमा केन्द्रित रहेको बताएका छन्।
“मेरो राजनीतिक यात्रा पद प्राप्तिका लागि मात्र होइन, कांग्रेसको विचार र संगठनलाई स्थानीय तहमा बलियो बनाउने उद्देश्यले अघि बढेको हो। लामो समयदेखि पार्टीमा काम गर्दै आएको अनुभवलाई अब संगठन सुदृढीकरणमा उपयोग गर्न चाहन्छु,” कार्कीले भने।
राजनीतिसँगै सामाजिक तथा सहकारी क्षेत्रमा समेत सक्रिय कार्कीले रेडक्रसको उपसभापति, गौरादह लायन्स क्लबको अध्यक्ष तथा लायन्सको जिल्ला तहको नेतृत्व सम्हालिसकेका छन्। उनी गौरादहस्थित शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षका रूपमा दुई कार्यकाल काम गरेको अनुभवसमेत रहेको बताइएको छ।
नेपाल ल क्याम्पसबाट बीएल अध्ययन पूरा गरेका कार्कीले पार्टीका पुराना तथा अग्रज कार्यकर्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई संगठनमा जोड्नुपर्ने आवश्यकता रहेको धारणा राख्दै आएका छन्।
उनका अनुसार गौरादह कांग्रेसलाई अझ एकताबद्ध, सक्रिय र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा अघि बढाउन आवश्यक छ। अग्रजको अनुभव र युवाको ऊर्जालाई संयोजन गरेर संगठनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
“गौरादह कांग्रेसलाई अझ एकताबद्ध, सक्रिय र जनतासँग जोडिएको संगठन बनाउनु अहिलेको आवश्यकता हो। अग्रजको अनुभव र युवाको ऊर्जा मिलाएर अघि बढ्नुपर्छ,” उनले भने।
वर्तमान राजनीतिक परिस्थितिबारे बोल्दै कार्कीले लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका छन्। साथै, युवाहरू तथा विद्यार्थीलाई राजनीतिको मूलधारमा जोड्दै उनीहरूको माग र सरोकारलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।
गौरादहको भूगोल र स्थानीय राजनीतिक अवस्थालाई आफूले नजिकबाट बुझेको दाबी गर्दै कार्कीले अग्रजको आशीर्वाद, सहकर्मीको सहयोग र युवाको साथ लिएर नगर सभापतिको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको बताएका छन्।
गौरादह नगर सभापतिको नेतृत्व चयन नजिकिँदै गर्दा कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा र सम्भावित नेतृत्वलाई लिएर स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ। अधिवेशनबाट नगर सभापतिको टुंगो भने निर्वाचन वा सहमतिमार्फत लाग्नेछ।

