गौरादह । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गौरादह जेसीजको आयोजनामा प्रज्वल कलेजका विद्यार्थीहरूका लागि ‘Motivation and Goal Setting Training’ (प्रेरणा तथा लक्ष्य प्राप्ति) सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

तालिममा गौरादह वडा नं.२ मा अवस्थित प्रज्वल कलेजका ६० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। चन्द्र सूर्य सीप विकास संस्था, दमकका प्रबन्ध निर्देशक विष्णु अधिकारीले सहजकर्ताका रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई जीवनमा स्पष्ट लक्ष्य निर्धारण गर्ने, लक्ष्यप्रति प्रतिबद्ध रहने तथा लक्ष्य प्राप्तिका लागि सकारात्मक सोचका साथ अघि बढ्ने विषयमा व्यवहारिक मार्गदर्शन गराउनुभएको थियो।
गौरादह जेसीज वर्ष २०२६ का अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका–२ का वडाध्यक्ष गोपालप्रसाद कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यस्तै, कार्यक्रममा प्रज्वल कलेजका पूर्व क्याम्पस प्रमुख सुरेशबहादुर पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रज्वल कलेजका प्रधानाध्यापक सुरेन्द्रमूर्ति पन्त तथा मानव सेवा समिति गौरादहकी प्रमुख बबिता विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

मनिषा भुजेलको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गौरादह जेसीजका महासचिव बालिन्द्रमानसिंह अधिकारीले गर्नुभएको थियो।
युवाहरूमा सकारात्मक सोचको विकाससँगै आफ्नो लक्ष्यप्रति स्पष्टता, आत्मविश्वास र समर्पणको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम फलदायी भएको आयोजकले जनाएको छ।



