बिर्तामोड, झापा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा सम्पन्न भव्य जिल्ला भेलाले गौरादहका युवा नेता निगेस श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नेकपा एमाले झापाले आफ्ना सम्पूर्ण जनवर्गीय संगठनहरूलाई आगामी भदौ महिनाभित्र पुनर्गठन गर्ने योजना अनुरूप यो जिल्ला भेला सम्पन्न गरेको हो । नयाँ कार्यसमितिको गठनसँगै जिल्लामा संगठनले थप गति लिने विश्वास लिइएको छ ।
नवगठित समितिको उपाध्यक्षमा भिजन चेम्जुङ, सचिवमा मन्जु चिमरिया, उप-सचिवमा अभिषेक मिश्र र कोषाध्यक्षमा सुरज श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यहरूमा गंगाराम खतिवडा, तुलसा खनाल, इश्वर रिजाल, सौगात गौतम, हितेश गुरागाई, गौरव लुइँटेल, वन्दना चुडाल, पूर्णिमा पराजुली, अश्विन धिताल, जोमर अलि र निकेस भट्टराई रहनुभएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अनेरास्ववियुका कोशी प्रदेश इञ्चार्ज प्रविन कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।
अनेरास्ववियु झापाका निवर्तमान जिल्ला अध्यक्ष मदन ओलीको अध्यक्षतामा सम्पन्न सो भेलामा प्रमुख अतिथि कोशी प्रदेश इञ्चार्ज प्रविन कार्की र एमाले केन्द्रीय सदस्य मनोज ताम्लीले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरूले नयाँ नेतृत्वले झापाको विद्यार्थी आन्दोलन र शैक्षिक मुद्दाहरूलाई अझ सशक्त ढंगले अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
भेलामा नेकपा एमाले झापाकी उपसचिव अनिता कन्दङ्वा र विद्यार्थी इञ्चार्ज समर्पण खतिवडा लगायतका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
