कुनै पनि क्षेत्रको विकास केवल भौतिक संरचनाको निर्माण मात्र होइन, बरु त्यहाँका नागरिकको जीवनस्तरमा आएको गुणात्मक परिवर्तन र सुशासनको प्रत्याभूति हो। झापाको गौरादह नगरपालिका वडा नं.३ यतिबेला यस्तै एउटा सकारात्मक रूपान्तरणको जगमा उभिएको छ। विगत लामो समयदेखि सामाजिक र व्यावसायिक नेतृत्वमा सक्रिय, वि.सं. २०३६/३७ सालदेखि वामपन्थी विद्यार्थी राजनीतिबाट खारिएका र हाल स्वतन्त्र रूपमा वडाको नेतृत्व सम्हालिरहनुभएका ५५ वर्षीय दिलीप कुमार भण्डारीको कार्यकालमा गौरादह-३ ले विकास, प्रविधि र सामाजिक चेतनाको नयाँ मार्ग समातेको छ।
सामान्य कृषक तथा जागिरे परिवारमा जन्मिएर टेन्ट डेकोरेसन, पार्टी प्यालेस, टुर्स एण्ड ट्राभल, र लुब्रिकेन्ट डिलर जस्ता व्यवसायमार्फत स्थापित भण्डारी गौरादह उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष, अतिथि सदन सामुदायिक भवन निर्माण समितिको संयोजक, रेडक्रसको आजीवन सदस्य र उपभोक्ता हित संरक्षण मञ्चको अध्यक्ष जस्ता गरिमामय पदमा रहेर लामो समय सामाजिक सेवामा क्रियाशील रहनुभयो। स्थानीय तह निर्वाचन २०७९ बाट वडा अध्यक्षमा निर्वाचित भएपछि उहाँले जातीय, वर्गीय र लैङ्गिक विभेदमुक्त समाज निर्माण, लोकतान्त्रिक मूल्य-मान्यताको स्थापना र विधिको शासन कार्यान्वयनलाई आफ्नो मुख्य राजनीतिक उद्देश्य बनाउनुभएको छ।
कृषिमा आत्मनिर्भरता र आधुनिकीकरणको क्रान्ति
मुख्य रूपमा कृषकहरूको बाहुल्यता रहेको यस वडामा अध्यक्ष भण्डारीले कृषि र सिँचाई क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुभयो। परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै यान्त्रीकरणतर्फ पाइला चालिएको छ।
• सिँचाईमा अभूतपूर्व काम: वडामा ७६५ मिटर पक्की नहर विस्तार गरिएको छ भने ५६ सेट मोटर बोरिङ र २ सेट डिप बोरिङसहित ४२ वटा ६ इन्चको ६ बल्ब सेटमार्फत खेत-खेतमा पानी पुर्याइएको छ। पोखरी, कुलो र नालाहरूको नियमित सरसफाइले सिँचाई प्रणालीलाई थप व्यवस्थित बनाएको छ।
• किसानलाई प्रोत्साहन र प्रविधि: परम्परागत सानो गरा सुधार गरी ठुला गरा निर्माण गर्ने कार्यलाई अभियानकै रूपमा चलाइएको छ। परम्परागत डोकोको मल बोकाइलाई आधुनिक बनाउन "एक चक्के ह्विल ब्यारो (Wheelbarrow)" वितरण अभियान सञ्चालन गरिएको छ।
• जैविक कृषि र बिमा: मलको अभाव न्यूनीकरण गर्न ट्राइकोडर्मा र ओ.डब्लु.डि.सी. (OWDC) जस्ता प्राङ्गारिक एवं जैविक वस्तुको प्रयोगमा कृषक समूहहरूलाई परिचालन गरिएको छ। उन्नत जातको मकैको बीउ वितरण र रैथाने बालीको प्रवर्द्धनका साथै पशुपालन गर्नेहरूका लागि "एक घर, दोस्रो पशु बिमा" र कृत्रिम गर्भाधान (A.I.) कार्यक्रम नियमित रूपमा सञ्चालनमा छन्। कृषकहरूको क्षमता विकासका लागि अवलोकन भ्रमण र अनुदानका कार्यक्रमहरू पनि सँगसँगै अगाडि बढाइएका छन्।
पूर्वाधार विकास र कनेक्टिभिटी
यातायात सहजताका लागि वडामा सडक सञ्जालको व्यापक विस्तार र स्तरोन्नति भइरहेको छ। करिब ५ किलोमिटर बाटो ग्राभेल गरिएको छ भने हरि भट्टराई दक्षिण (२०० मि.) र पुष्प भारतीको घर जाने बाटो (११५ मि.) मा इन्टरलक ब्लक जडान गरिएको छ। ५१० मिटर लामो सिंगापुर सडकमा हाल दुवैतर्फ रिटेनिङ वाल उठाई सब-बेस हाल्ने कार्य सम्पन्न भइसकेको छ भने आगामी मंसिर महिनाभित्रै कार्य सम्पन्न गर्ने गरी इन्टरलक ब्लक लगाउने काम हाल द्रुत गतिमा निर्माणाधीन छ।
वडाभित्र कालोपत्रे (पिच) सडक निर्माणले ठुलो फड्को मारेको छ। अतिथि सदन (१२१० मि.), दुर्गादेवी (४७५ मि.), र लक्ष्मी सुवेदी (७३० मि.) सडक खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ। साथै, बरगाछी सडकखण्ड १८७५ मिटर र गुराँस चोक पश्चिममा ५१० मिटर सडक कालोपत्रे कार्य पूर्ण भइसकेको छ। हाल वडा कार्यालय-विष्णु राई-जयबहादुर अधिकारीको चोक हुँदै गंगाराम भण्डारीको घर अगाडिसम्मको कुल २६३० मिटर सडक र खरेल डाँडा बरगाछी (३८१० मि.) सडक खण्डमा ठेक्का लागेर कालोपत्रेको काम धमाधम भइरहेको छ। त्यस्तै, धोबिनिया नवाटोली सडक खण्डको २७०० मिटर सडक आगामी असोज महिनाभित्रै सम्पन्न गर्ने गरी कालोपत्रे निर्माण कार्य अगाडि बढिरहेको छ। अन्य प्रमुख ग्रामीण सडकहरूको पनि द्रुत गतिमा मर्मत तथा विस्तार भइरहेको छ।
बाढी र डुबान नियन्त्रणका लागि गेउरिया खोलामा ६३० मिटर पक्की तटबन्धन र ३०० मिटर बाँसको पाइलिङ गरिएको छ। साथै, ४०० मिटर रिटेनिङ वाल, पक्की ड्रेन, ६ वटा ठुला कल्भर्ट र २३ वटा साना स्ल्याब कल्भर्टहरू निर्माण गरी पानीको निकासलाई सुरक्षित बनाइएको छ।
शिक्षा, स्वास्थ्य र मौलिक पहिचान
सामुदायिक विद्यालयहरूको भौतिक र गुणस्तरीय सुधारका लागि वडा कार्यालयले सरकारी तथा निजी संघ-संस्थासँग हातेमालो र लागत साझेदारी बढाएको छ।श्री सूर्योदय आधारभूत विद्यालयको ४ कोठे भवन निर्माणका साथै दुर्गादेवी प्रा.वि. मा २ कोठे भवन सहित आधुनिक मन्टेस्वरी कक्षा कोठा निर्माण र सञ्चालन गरिएको छ। यी शैक्षिक कार्यक्रमहरूका लागि गौरादह नगरपालिका, कोशी प्रदेश सरकार र नेपाल सरकारबाट सहयोग जुटाइनुका साथै स्थानीय संघ-संस्थासँगको लागत साझेदारीमार्फत आवश्यक बजेट र स्रोत सुनिश्चित गरी काम सम्पन्न गरिएको हो।
स्वास्थ्य क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविरहरूको आयोजना मात्र गरिएको छैन, बरु मेडिकल प्रोटोकल पूरा गरेर मात्र औषधि सेवन गर्नुपर्छ भन्ने चेतनामूलक अभियान नै चलाइएको छ। जेष्ठ नागरिक दिवा सेवा भवन, उद्योग वाणिज्य संघको अगुवाइमा सुविधा सम्पन्न सामुदायिक भवन (अतिथि सदन) निर्माण, दुई स्थानमा खुला जिमशाला र यात्रु प्रतिक्षालयको निर्माणले वडाको सौन्दर्य र सुविधा बढाएको छ।
अहिलेसम्म वडाका ९६४ घरधुरीमा स्वच्छ खानेपानी पुगिसकेको छ, जसमा चालु कार्यकालमा मात्र ३४ नयाँ धारा जडान र २,७४० मिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ। वडालाई आधुनिक स्वरूप दिन “स्मार्ट होम एड्रेसिङ” अन्तर्गत हालसम्म ४१० घर र बाटोमा टोल सङ्केत बोर्ड जडान कार्य सम्पन्न भइसकेको छ र बाँकी घरमा यसै आर्थिक वर्षभित्र सम्पन्न गरिँदैछ।
उदाहरणीय व्यक्तिगत त्याग: पारिश्रमिक सामाजिक सेवामा
वडा अध्यक्ष भण्डारीको सबैभन्दा प्रशंसनीय पक्ष उहाँको व्यक्तिगत त्याग हो। उहाँले वडा अध्यक्षको रूपमा राज्यबाट पाउने आफ्नो सम्पूर्ण सेवा-सुविधा र भत्ताबापतको रकम (करिब १५ लाख रुपैयाँ बराबरको डोनेसन) सामाजिक कार्यमा लगाउनुभएको छ। सोही रकमबाट गौरादह सामुदायिक पुस्तकालयको छानो मर्मत, विद्यालयहरूमा खेलकुद तथा कला सामग्री वितरण, अतिरिक्त शिक्षकको व्यवस्था, विद्यालय रङ्गरोगन र गरिब विपन्न परिवारलाई प्रत्यक्ष आर्थिक सहयोग गरिएको छ। वडाबासीको सुविधाका लागि “नि:शुल्क शव वाहन सेवा” समेत सञ्चालनमा ल्याइएको छ।
सुशासन, डिजिटल वडा र नागरिक संवाद
वडा कार्यालयलाई अपाङ्गता-मैत्री र बालमैत्री स्थानीय शासनको अवधारणा अनुरूप सञ्चालन गरिएको छ। नागरिकको सजिलोका लागि कार्यालयमा 'हेल्प डेस्क' स्थापना गरिएको छ भने व्यवसाय कर, घरबहाल कर लगायतका राजस्व प्रणाली र सामाजिक सुरक्षा भत्ता एवं व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह आदि) को डाटा सेन्टरलाई भविष्यमा कहिल्यै त्रुटि नहुने गरी व्यवस्थित बनाइएको छ। अध्यक्ष भण्डारी भन्नुहुन्छ, “हामी अबको ३ वर्षभित्र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवालाई कागजरहित (Paperless) बनाउने गरी डिजिटलाइजेसन गर्दैछौँ र ३ वर्षभित्र वडाको पूर्ण 'डिजिटल प्रोफाइल' तयार भइसक्नेछ।”
जनताप्रतिको उत्तरदायित्वका लागि 'जनतासँग जनप्रतिनिधि कार्यक्रम', टोल-टोलमा सर्वदलीय र सर्वपक्षीय भेला, मासिक रूपमा कृषक समूहहरूसँग संवाद, र अपाङ्गता भएका परिवारसँग समाजको संवाद जस्ता नवीन कार्यक्रमहरू चलाइएका छन्। योजना छनोट गर्दा पनि वडाले सिधै बजेट बाँड्ने नभई टोल बस्तीबाटै नागरिकको मागका आधारमा छनोट गर्ने परिपाटी बसालेको छ।
चुनौतीहरू र भविष्यको साझा सङ्कल्प
कामहरू धेरै भएका छन्, तर सीमित बजेट र कानुनी जटिलताका कारण चुनौतीहरू अझै बाँकी छन्। लामो समयदेखि ५४ परिवारको जग्गा धनीपुर्जा सम्बन्धी समस्या समाधान गरिए पनि अझै कतिपय भूमिहीनको समस्या बाँकी नै छ। वि.सं. २०६३ मा जन्मका आधारमा नागरिकता पाएका आमाबाबुका सन्तानहरू अझै पनि नागरिकता पाउनबाट वञ्चित हुनु वडाको ठुलो मानवीय पीडा हो। वास्तविक किसानसँग जमिन नहुनु र जमिन भएकासँग जनशक्तिको अभाव हुनु (युवा पलायन), कृषि उत्पादनको लागत बढ्नु तर उचित मूल्य नपाउनु, विद्युतको अस्थिर भोल्टेजका कारण इलेक्ट्रोनिक्स सामानमा क्षति हुनु, र छाडा कुकुरहरूको व्यवस्थापन नहुनु जस्ता समस्याहरूसँग वडाबासी जुधिरहेका छन्। लागुपदार्थको दुर्व्यसनी बढ्दै जानु र बौद्धिक जनशक्तिको अत्यधिक पलायन हुनु अर्को गम्भीर चुनौती हो।
तर, यी चुनौतीहरूका सामु वडा नेतृत्व थाकेको छैन। आफ्नो कार्यकालको बाँकी अवधि र भविष्यको मार्गचित्रबारे स्पष्ट खाका कोर्दै वडा अध्यक्ष दिलीप कुमार भण्डारी दृढताका साथ भन्नुहुन्छ:
"हाम्रो प्रमुख लक्ष्य गौरादह वडा नम्बर ३ लाई पूर्ण रूपमा शान्त, सुरक्षित र मानव बसोबासका लागि एक उत्कृष्ट र उदाहरणीय गन्तव्य स्थल (Ideal Settlement) बनाउनु हो। यो आत्मनिर्भर कृषकहरूको भूमि हो। त्यसैले, कृषिको यही बलियो आधुनिक जगमा उभिएर यस क्षेत्रलाई आगामी दिनमा 'शैक्षिक र खेलकुद हब (Educational & Sports Hub)' को रूपमा विकास गर्नेछौँ। यसका लागि नागरिक, सामाजिक संघ-संस्था र सरकारी निकायहरू बीचको सहकार्यलाई हामी निरन्तर जारी राख्ने प्रण गर्दछौँ।"
स्पष्ट दृष्टिकोण, जनमुखी कार्यशैली र व्यक्तिगत स्वार्थभन्दा माथि उठेको सामाजिक भावनाका कारण दिलीप कुमार भण्डारीको नेतृत्वमा रहेको गौरादह-३ ले समग्र स्थानीय तहकै लागि एउटा सिक्नै पर्ने पाठ र मार्गचित्र प्रस्तुत गरिरहेको छ।
