प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३ सफल बनाउन सहयोगको अपिल
गौरादह, झापा।
स्पर्श सामाजिक क्लब, गौरादहका अध्यक्ष उज्वल दाहालले आगामी “प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३” सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सहकारी, सामाजिक संघ–संस्था, विभिन्न कम्पनीहरू, जनप्रतिनिधि, समाजसेवी तथा देश–विदेशमा रहेका गौरादहवासीलाई आर्थिक तथा नैतिक सहयोग गर्न हार्दिक अनुरोध गरेका छन।
अध्यक्ष दाहालले महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सिर्जना गर्दै खेलमार्फत समाजमा बढ्दो लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई स्वस्थ, सभ्य र समृद्ध समाज निर्माणको सशक्त माध्यम भएको उल्लेख गर्दै सम्पूर्ण समुदायको साझा साथ र सहयोग बिना यस्ता अभियान सफल हुन नसक्ने बताए।
उनले गौरादहको गौरवको रूपमा आयोजना हुन लागेको यस ऐतिहासिक महिला फुटबल प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्नुका साथै गौरादहको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले प्रतियोगितामा प्रायोजन गर्ने संस्था तथा व्यक्तिहरूलाई आयोजकको तर्फबाट सम्मान गरिने तथा उनीहरूको संस्थागत पहिचानलाई विभिन्न प्रचार–प्रसार सामग्री, मैदान, सामाजिक सञ्जाल र कार्यक्रमका आधिकारिक माध्यमहरूमा प्राथमिकताका साथ प्रवर्द्धन गरिने जानकारी दिए।
उनले अन्त्यमा भने, “यो केवल फुटबल प्रतियोगिता होइन, यो गौरादहको प्रतिष्ठा, महिला सशक्तीकरण र लागुऔषधविरुद्धको सामाजिक अभियान हो। हामी सबै मिलेर यो इतिहास रचौं। तपाईहरूको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।”
स्पर्श सामाजिक क्लबले प्रतियोगिता सफल बनाउन सबै क्षेत्रको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ।
