परिवर्तनको विश्वास बोकेर राजनीतिमा होमिएका पुष्पलाल ढकाल
राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, समाज परिवर्तन गर्ने जिम्मेवारी हो भन्ने विश्वास राख्ने व्यक्ति हुन् पुष्पलाल ढकाल। तेह्रथुम जिल्लाको साविक सुधाप गाउँपालिकामा २०२८ साल जेठ २७ गते जन्मिएका ढकाल आज झापा जिल्लाको गौरादह नगरपालिका–२ लाई आफ्नो कर्मभूमि बनाउँदै सक्रिय राजनीतिक जीवन बिताइरहेका छन्।
सामान्य परिवारमा हुर्किएका ढकालले एसएलसीसम्मको अध्ययन पूरा गरे। बाल्यकालदेखि नै समाजमा देखिने असमानता, सरकारी संयन्त्रमा हुने ढिलासुस्ती, भ्रष्टाचार र जनताले भोग्नुपरेका सास्तीले उनको मनमा परिवर्तनको चाहना जगाइरह्यो। समयसँगै उनले महसुस गरे—देश बदल्ने अपेक्षा अरूबाट मात्र गर्नु पर्याप्त हुँदैन, परिवर्तनको यात्रामा स्वयं सहभागी हुनुपर्छ।
यही सोचले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्म पुर्यायो। उनी भन्छन्, "देश बदल्न सम्भव छ, र त्यो हाम्रो पुस्ताकै नेतृत्वबाट सम्भव छ। मौन बस्नु पनि देशप्रतिको जिम्मेवारीबाट भाग्नु हो।"
आज उनी रास्वपा झापाका उपसभापति का रूपमा संगठन निर्माणदेखि जनताका आवाजलाई नेतृत्वसम्म पुर्याउने जिम्मेवारीमा सक्रिय छन्। उनका लागि पदभन्दा जिम्मेवारी ठूलो हो। त्यसैले उनी आफ्नो नेतृत्वको मूल मन्त्र स्पष्ट शब्दमा व्यक्त गर्छन्—"अधिकार होइन, जिम्मेवारी; भाषण होइन, परिणाम।"
ढकालको दृष्टिमा झापा केवल एउटा जिल्ला होइन, सुशासन र समृद्धिको नमुना बन्न सक्ने सम्भावना बोकेको भूमि हो। त्यसैले उनी शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक विकासलाई केन्द्रमा राखेर झापाको दीर्घकालीन विकासको खाका तयार गर्नुपर्ने आवश्यकता औँल्याउँछन्। उनका अनुसार स्थानीय सरकार, नागरिक र राजनीतिक नेतृत्वबीच सहकार्य भए झापालाई विकासको नयाँ उचाइमा पुर्याउन सकिन्छ।
संगठन निर्माणमा पनि उनको स्पष्ट योजना छ। प्रत्येक पालिका, वडा र टोलसम्म पार्टीलाई सक्रिय बनाउने, प्रविधिको प्रयोगमार्फत नागरिकसँग प्रत्यक्ष संवाद बढाउने, नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने र कार्यकर्तालाई नियमित वैचारिक प्रशिक्षण दिने उनको प्राथमिकतामा परेको छ।
युवा पलायन रोक्न रोजगारी र सीपमूलक तालिम, महिलाको अर्थपूर्ण नेतृत्व, किसानलाई आधुनिक कृषि प्रविधि, समयमै मल–बीउ र उचित बजार मूल्य तथा उद्योगी–व्यवसायीलाई सहज व्यावसायिक वातावरण उपलब्ध गराउनुपर्ने उनको धारणा छ। उनी विकासलाई भाषणमा होइन, व्यवहारमा देखिनुपर्ने विषय मान्छन्।
सुशासनका सवालमा ढकाल अझ स्पष्ट छन्। सरकारी कार्यालयमा हुने ढिलासुस्ती र अनियमिततामाथि प्रभावकारी निगरानी, सार्वजनिक उत्तरदायित्वको विकास र पार्टीभित्र समेत पूर्ण पारदर्शिताको अभ्यास आवश्यक रहेको उनी बताउँछन्। झापाका सडक, नदी नियन्त्रण, कृषि र चिया पर्यटनजस्ता गौरवका योजनाहरू समयमै सम्पन्न गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको जोड छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपा झापाले जनताको विश्वास जित्ने अभियानलाई प्राथमिकता दिएको उनी बताउँछन्। स्वच्छ छवि भएका, सक्षम र जनउत्तरदायी उम्मेदवार छनोट गर्दै घरदैलो कार्यक्रममार्फत जनभावना बुझ्ने कामलाई निरन्तरता दिइएको उनको भनाइ छ।
ढकालको विश्वास छ—व्यवस्था परिवर्तनले मात्र जनताको अवस्था परिवर्तन हुँदैन, त्यसका लागि इमानदार नेतृत्व, पारदर्शी शासन र सक्रिय नागरिक सहभागिता आवश्यक हुन्छ। त्यसैले उनी झापावासी र सम्पूर्ण नेपालीलाई परिवर्तनको यात्रामा सहभागी हुन आग्रह गर्छन्।
उनका शब्दमा, "घण्टी केवल एउटा चुनाव चिह्न होइन, यो सुशासन, समृद्धि र नयाँ नेपालको सङ्कल्प हो। अब गुनासो गर्ने मात्र होइन, परिवर्तनको संवाहक बन्ने बेला आएको छ।"
यही विश्वास, यही सोच र यही प्रतिबद्धतासहित पुष्पलाल ढकाल आज झापामा वैकल्पिक राजनीतिको यात्रालाई अगाडि बढाइरहेका छन्। समयले उनको यात्रालाई कहाँ पुर्याउँछ भन्ने भविष्यले तय गर्नेछ, तर परिवर्तनप्रतिको उनको विश्वास भने अहिले पनि उत्तिकै दृढ देखिन्छ।
